२० मंसिर,काठमाडौं। एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको हो ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिएको र उसलाई जानकारी समेत नगराई अस्वभाविक मूल्यमा भएको कारोबार गरेको देखिएको सरकारले बताएको छ ।
सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा जारी विज्ञप्तीमा छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाही गरिएको छ । शर्माले अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न आवश्यक देखिएको समेत उल्लेख गरेकी छन् ।
उनका अनुसार प्रधानमन्त्रीले सोमबार नै छानबिन गर्न निर्देशन दिइसकेका छन् । दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि एनसेलले मंगलबार जवाफी पत्र पठाएको समेत बताइएको छ ।
मन्त्री शर्माका अनुसार दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि बल्ल एनसेलले मंगलबार मात्र पत्र पठाएको छ । अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न जरुरी देखिएको भन्दै उनले भनिन्, ‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ ।’
यसमा कतिपयले प्रधानमन्त्री र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देवउालाई समेत जोडेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘जे उठेको छ, त्यसमा कुनै सत्यता छैन । यदि त्यसमा सत्यता हुन्थ्यो भने सरकारले यस्तो निर्णय गर्ने थिएन ।’