समाचार

एनसेलले भन्यो : सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध हुँदैन

१९ मंसिर २०८०, मंगलवार १४:००
एनसेलले भन्यो : सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध हुँदैन

१९ मंसिर,काठमाडौं। एनसेलले सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध नहुने बताएको छ। एनसेलले एक सूचना जारी गर्दै सेयरधनी परिवर्तन भएपनि हाल प्रदान गरिँदै आएका सेवा र सुविधामा कुनै अवरोध नपर्ने उल्लेख गरेको हो।

मङ्गलवार एक सूचना प्रकाशित गर्दै कम्पनीले आफ्नो सिद्धान्त ‘हामी तपाईंको लागि’ अनुसार विगतका दिनमा झैं उही उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

“हाम्रा आदरणीय ग्राहकवर्ग तथा साझेदार लगायत समग्र एक करोड ६० लाख एनसेल परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा नेपाल र नेपालीको विकास तथा समृद्धिका लागि सदा समर्पित रहने वाचा गर्दछौं,” सूचनामा भनिएको छ ।

मङ्सिर १३ गते एनसेलको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटा ग्रुपले एनसेल बिक्रीमा राख्ने निर्णय भएको जानकारी दिएको थियो । त्यसको दुई दिनपछि मङ्सिर १५ गते आजियाटाले साढे छ अर्ब रुपैयाँमा बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई ८० प्रतिशत शेयर बिक्री गरेको घोषणा गरेको थियो ।

मंगलबार एनसेलले दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्