खेलकुद

यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

१९ मंसिर २०८०, मंगलवार १०:५७
यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

१९ मंसिर,काठमाडौं।मंसिर २२ गतेबाट यूएईमा आयोजना हुने एसीसी यू-१९ एसिया कपमा भाग लिन जाने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई बिदाइ गरेको हो । यसअघि सातपटक यु-१९ एसिया कप खेलेको नेपालले आठौँपटक यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । सन् २०१७ मा सेमिफाइनलसम्म पुगेको नेपाल अन्य संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

सन् २०१२ मा पहिलोपटक यु–१९ एसिया कप खेलेको नेपाल उक्त संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । नेपाली टोली भारतसँग डीएल मेथडमा ८१ रनले र पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । यु–१९ एसिया कपको डेब्यूमा मलेसियाविरुद्ध भने नेपालले १०७ रनको शानदार जित निकालेको थियो ।

सन् २०१३-१४ को एसिया कपमा पनि नेपाली टोली समूह चरणभन्दा माथि जान सकेको थिएन । सो संस्करणमा यूएईमाथि चार विकेटको जित निकाल्दा नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

डिसेम्बर ८ देखि १५ सम्म यूएईमा यू-१९ एसिया कप हुँदैछ । समूह ए मा रहेको नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानस्तानसँग भिड्नेछ । यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्