समाचार

प्रधानमन्त्री दाहालले भने : विपीन जोशी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको छ

१९ मंसिर २०८०, मंगलवार ००:४५
प्रधानमन्त्री दाहालले भने : विपीन जोशी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको छ

१९ मंसिर,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपीन जोशी छ्ट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, ‘विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्काे कुनै पनि विकल्प छैन ।’

प्रधानमन्त्री दाहालले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरूको कुनै तुक र आधार नभएको र तिनको व्यवस्थापन गरी गणतन्त्रको जग बलियो बनाउने विषयमा सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरू एकमत रहेको बताए ।

जोशीको अवस्था के हो भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको जानकारी पनि दिए । आज (सोमबार) सिंहदरबारमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियाको क्रममा उनले यस्तोब ताएका हुन् ।

प्रधानमन्त्री दाहालले हमास र इजरायलसँग मध्यस्थता गरिरहेको कतारसँग नेपाल सरकारले पनि विपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेको, इजरायल सरकारसँग त सुरुदेखि नै माग गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले नेपाल सरकारले विपीनको रिहाइका लागि सबै प्रयासलाई जारी राखेको र हामीले गरेका अपिलका आधारमा उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको बताए ।

त्यसैगरी, पछिल्लो समयमा रुस र युक्रेनमा पनि नेपाली युवा सेनामा भर्ती भइरहेको भन्ने सूचना पाएपछि सरकारले ती देशलाई नेपालको कुनै पनि नागरिक विदेशी सेनामा भर्ती हुने नीति नरहेको विषयमा जानकारी गराइएको र अब रुस र युक्रेन नजानका लागि पनि युवालाई नेपालमा चेतना जगाउने कामका लागि सम्बद्ध निकायले तयारी थालेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्