समाचार

भारतका तीन प्रदेशमा भाजपालाई बहुमत, तेलंगनामा कंग्रेस विजयी

१८ मंसिर २०८०, सोमबार ०१:२२
भारतका तीन प्रदेशमा भाजपालाई बहुमत, तेलंगनामा कंग्रेस विजयी

१८ मंसिर,काठमाडौं। भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ।   भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६३ सिट जितेको छ । कंग्रेस आईले ६६ सिट मात्र जितेको छ । एक सिट अन्यले जितेका छन् । राजस्थानमा कुल १९९ सिटमध्ये भाजपाले ११५ सिटमा जीत हात पारेको छ । कंग्रेस आईले ६९ सिट जितेको छ । अन्यले १५ सिट जितेका छन् ।

छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ।​ तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ। अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले ८ सिट जितेको छ।

यी तीन राज्यमा विजयी भएसँगै सत्तारुढ भाजपाले  देशको १२ राज्यहरूमा आफ्नै सरकार बनाउने भएको हो।  राजस्थान र छत्तीसगढमा पराजयपछि दोस्रो ठूलो राजनीतिक दल कांग्रेसको हातमा तीन राज्य मात्रै रहनेछ।

यस हिसाबले दिल्ली र पञ्जाबमा सरकार चलाउने आम आदमी पार्टी तेस्रो शक्ति बनेको छ।  सत्तारुढ भारतीय जनता पार्टी हाल उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, गुजरात, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेश र मध्य प्रदेशमा सत्तामा छ।

अब मध्यप्रदेशमा भाजपा सत्तामा रहने र राजस्थान र छत्तीसगढलाई कांग्रेसबाट खोसेको छ।  यी १२ राज्यहरू बाहेक  महाराष्ट्र, मेघालय, नागाल्याण्ड, सिक्किम र पुडुचेरीमा गठठबन्धनको सरकारछ। अर्कोतर्फ हिमाचल प्रदेश र कर्नाटकमा मात्रै कांग्रेस सत्तामा छ।

प्रतिक्रिया दिनुहोस्