प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीतिनिर्माण तहदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको नेतृत्व स्थापित नभएसम्म विकासले सार्थकता नपाउने भन्दै यसका लागि सबैले हातेमालो गरेर लाग्नुपर्ने धारणा राखे ।
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर हरेक हिसाबले अपाङ्गता मैत्री महानगर हुन लागि रहेको बताउँदै अपाङ्गतामैत्री भौतिक संरचना बनाउने महानगरको नीति रहेको र अपाङ्गताका सवालमा केन्द्रित रहेर महानगरले सचेतना अभियान पनि चलाउने धारणा राखे । उनले प्रकृतिबाट पछि पारिएका व्यक्तिहरुलाई आदार, सम्मान र माया गर्न सिक्नुपर्ने बताए ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या दुई दशमलव आठ प्रतिशत र ललितपुर महानगरपालिकामा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभ खरेलले जानकारी दिए ।
सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो । यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ ।