सुन्तलाले मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान निकै हर्षित छन् । इच्छाकामना गाउँपालिका–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन्। उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए ।
उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो ।
२४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन् ।
इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउछन् । उनले भने, “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।”
केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए ।
यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।