१४ मंसिर,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गरेका छन्।
नेपाल एअरलाइन्सको नियमित उडानबाट उहाँ नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आजदेखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ संस्करणमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधनगर्ने छन् ।
यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप-२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।