१४ मंसिर,बैतडी।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन् ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ राजनीतिक यात्रा गर्न सबै तयारी पूरा भएको एमालेले जनाएको छ। एमालेले बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्मको झण्डै १८ सय किलोमिटर लामो यात्रा सुरु गर्न लागेको हो।
बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए । उनले भने, “देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन सकिएको छैन ।”
सङ्कल्प यात्राको बेला देश विकास किन हुन सकेन भनेर स्थानीयसँग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन सङ्कल्प यात्रा गरिन लागिएको उनले बताए ।
अध्यक्ष ओलीले बुधबार देहीमाडौँमा कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी भए ।एमालेको बिहीबार सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटनका लागि उनी बैतडी गएका हुन् ।
पार्टीका शीर्ष नेताहरूले गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मामा सम्बोधन गर्नेछन्। त्यस्तै, सन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापु ठूला सभा आयोजना हुनेछन्।
एमालेले दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखेको छ। अभियानका क्रममा ठाउँ ठाउँमा सानाका खालका कोणसभा, भेला बैठक, पार्टी मिटिङसमेत आयोजना गरिनेछ।