प्रदेश

कोशी : बजेट प्रतिस्थापन विधेयकमा एमाले-राप्रपाद्वारा खर्च कटौतीको प्रस्ताव दर्ता

१३ मंसिर २०८०, बुधबार ०७:३०
कोशी : बजेट प्रतिस्थापन विधेयकमा एमाले-राप्रपाद्वारा खर्च कटौतीको प्रस्ताव दर्ता

१३ मंसिर,विराटनगर। कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् ।

एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका हुन् । एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरूले कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका हुन् । उनीहरूले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।

बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज विहान ११ बजेसम्मका लागि समय दिएको थियो । बुधबार दिउँसो १ बजे बस्ने बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी छ ।  यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् ।  बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । तर यस्तो प्रस्ताव पारित हुँदैन । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र सांसद गोपाल विश्वकर्माले छुट्टाछुट्टै खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री केदार कार्कीले शनिबार बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । कार्कीले प्रस्तुत गरेको बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट छ । जुन अध्यादेशमार्फत ल्याइएको बजेट भन्दा करिब ५० करोड रुपैयाँ बढी हो ।

प्रतिक्रिया दिनुहोस्