१३ मंसिर,तनहुँ। तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३४ जना घाइते भएका छन् ।
आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ। अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिए।