१३ मंसिर,काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जाने भएका हुन् ।सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहाल डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा उनले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने मन्त्रालयले बताएको छ ।
सम्मेलनको ‘साइड लाइन’मा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग वार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड डिसेम्बर २ मा सम्मेलनको साइडलाइनमा आयोजना गरिने ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस ?’ कार्यक्रममा होस्टको रूपमा रहनेछन् । कार्यक्रममा जलवायु परिवर्तनका सम्बन्धमा नेपालले आवाज उठाउनेछ ।
सम्मेलनको साइडलमा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै जलवायु अनुकूलनका लागि दोब्बर घोषणा गरिएको सहायता कोषलाई अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा पनि नेपालले जोड दिनेछ। यही वर्षदेखि आफ्नो छुट्टै पेभिलियन बनाएर छलफल चलाउने तयारी गरेको छ।
नेपालले हिमालय क्षेत्रमा देखा परेको जलवायु परिवर्तनको असर र न्यूनीकरणका लागि विश्व समुदायबाट प्राप्त गर्न सकिने सहयोगका बारेमा ती छलफल केन्द्रित गर्नेछ।
कोप–२८ मंसिर २६ (डिसेम्बर १२) सम्म दुबईमा हुनेछ।