राजनीति

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै

१२ मंसिर २०८०, मंगलवार १२:२१
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै

१२ मंसिर,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति मा डा. स्वर्णिम वाग्लेलाई चयन गर्ने तयारी गरेको छ ।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाका एक नेताले बताए ।

उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधबार हुनेछ ।

पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुुसार राखिने रास्वपा स्रोतको भनाइ छ ।

वाग्लेलाई उपसभापतिमा मनोनित गर्ने विषयमा छलफल गर्न शीर्ष तहका नेताहरु विच सोमबार साँझ छुट्टै बैठक बसेको थियो । रास्वपाका एक नेताका अनुसार केही दिनअघि रास्वपा प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । धनुषाका यादव लोहियावादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए ।

पार्टीको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ । सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्