१२ मंसिर,जाजरकोट। गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।
अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए ।
पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिसहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए । पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएकासहित सात सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।