समाचार

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल बुधबार यूएई जाने

१२ मंसिर २०८०, मंगलवार ०२:२३
कोप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल बुधबार यूएई जाने

१२ मंसिर,काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स जाने भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोप २८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले १६ मंसिरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कोप–२८ मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्। प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२ औं संघीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’ मा पनि सहभागी हुने कार्यक्रम छ।

सोही दिन उनले जलवायु परिवर्तनका क्रममा हिमाली क्षेत्रमा पारेको असरबारे उच्चस्तरिय साइडलाइन कार्यक्रम आयोजना गर्नुभएको छ । सम्मेलनका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्र प्रमुख तथा उच्च पदस्थ व्यक्तित्वसँग द्वीपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले आबुधाबीस्थित नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु सहभागी हुनेछन् । भ्रमण टोली मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्