समाचार

‘अभिभावक भएर बस्नुस्, यो काँध जिम्मेवारी बोक्न तयार छ’-गगन थापा

११ मंसिर २०८०, सोमबार १५:२७
‘अभिभावक भएर बस्नुस्, यो काँध जिम्मेवारी बोक्न तयार छ’-गगन थापा

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न आग्रह गरेका छन् ।

सोमबार पार्टीको नवलपुर जिल्ला सम्मेलनमा सभापति देउवासँगै अर्का नेता डा. शशांक कोइरालालाई साक्षी राखेर महामन्त्री थापाले आफ्नो काँध जिम्मेवारी बोक्न तयार रहेको विश्वास दिलाउँदै भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’

नेता थापाले देउवालाई सम्बोधन गर्दै आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न आग्रह गरेका हुन् ।

थापाले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै देउवामाथि प्रश्न पनि गरेका छन् । ‘एउटा कार्यकर्ता दिनको ५/६ घण्टा पार्टी कामलाई दिन्छ । त्यो ५/६ घण्टामध्ये २/३ घण्टा त उसको कुनै गुटको हिसाबकिताव गर्न जान्छ’ थापाले भने ।

टिकट पाउनकै लागि पार्टीमा गुटबन्दीले प्रश्रय पाएको भन्दै थापाले माथिल्लो समितिले टिकट वितरण गर्ने हालको नियम आगामी निर्वाचनदेखि बदल्नुपर्ने बताए ।

कांग्रेसलाई भोटको राजनीति मात्रै गर्ने सुविधा नभएको बताउँदै थापाले देश सम्हाल्ने पार्टी पनि कांग्रेस भएको दाबी गरे । ‘यसो गरे भोट आउँछ, यसो गरे भोट आउँदैन भनेर भोटको मात्रै राजनीति गर्ने हो भने देशको जिम्मा चाहिं कसले लिने हो?’ थापाको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्