११ मंसिर, काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् ।
सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले गणतन्त्रको बिकल्प नरहेको भन्दै गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताएका हुन् ।
उनले गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे । गणतन्त्र बिरोधी गतिविधिबाट आफुहरू नअत्तालिएको उनले बताए । त्यस्तै गठबन्धन नेतृत्वको सरकारको आलोपालोका बिषयमा सोधिएको प्रश्नमा सभापति देउवाले पछि थाहा हुने बताए ।
सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सञ्चारकर्मीले देउवालाई प्रश्न सोधेका थिए। सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे सोधिएको प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिएनन्। सत्ता साझेदारी तथा सरकारको नेतृत्व फेरबदल कसरी हुन्छ भन्ने प्रश्नमा देउवाको जवाफ थियो, “भएपछि थाहा पाइहाल्नु हुन्छ नी।”
त्यस्तै, कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिए। सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको डा. कोइरालाको भनाइ थियो। “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन,” कोइरालाले भने।