११ मंसिर, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना पक्षधर शक्तिहरुबीच बृहत राष्ट्रिय मोर्चा निर्माण गर्ने प्रस्ताव गरेको छ ।
बैठकले सङ्घीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने, सङ्घीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहना रहेको बताउँदै वृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहलाई आह्वान गरेको हो ।
’समान विचारधारा भएकाहरू छरिएर होइन, जुटेर काम गर्यो भने देशमा सकारात्मक परिवर्तन सम्भव छ । अहिले नेतृत्व वा समूहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होइन । सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागिताको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दबाबमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ,’ पार्टीले भनेको छ ।
बैठकले वर्तमान व्यवस्था असफल भएको निष्कर्ष निकालेको छ । जनता विकल्पको खोजीमा रहेको उल्लेख गर्दै संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको उनले सुनाए ।
वर्तमान व्यवस्था असफल भएको तीतो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहानाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न सरकार र प्रमुख राजनीतिक दलहरूसँग आग्रह गरिएको छ ।
यस्तै, पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसिर २४ र २५ गतेका लागि बोलाइएको छ । बैठकमा वृहत राष्ट्रिय मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय गरिएको छ ।