११ मंसिर,म्याग्दी । म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा आज शव भेटिएको छ ।
गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।
म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ ।
घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ । बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् । उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो ।