११ मंसिर,काठमाडौँ।बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडिको जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैली सुरु हुँदै छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सोमबारदेखि सञ्चालन गर्न लागिएको हो ।
जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।
रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।
‘पहिलो प्रयोगका रूपमा बबरमहलमा पोलिकन क्रसिङ लाइट जडान गरिएको छ, यो लाइट थिचेपछि ३० सेकेन्ड यात्रुले बाटो क्रस गर्न पाउँछन्,’ उनले भने, ‘त्यसपछि दुई मिनेटसम्म थिच्न मिल्दैन, उक्त समय सवारीसाधनका लागि हो । ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकताअनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ ।’
श्रेष्ठका अनुसार महानगरले बबरमहलबाहेक ३५ स्थानमा यस प्रकारका लाइट जडानको तयारी गरेको छ । ‘जहाँजहाँ बाटो काट्ने यात्रुहरूको भिडभाड हुन्छ, त्यहाँ हामी यस प्रकारको लाइट जडान गर्छौँ,’ श्रेष्ठले भने, ‘बबरमहलपछि ३५ वटा स्कुल क्षेत्रमा यो लाइट राख्दै छौँ । मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिनेछ ।’