खेलकुद

दोस्रो टी-२० खेलमा अस्ट्रेलियाविरुद्ध भारतको जित

११ मंसिर २०८०, सोमबार ०२:०४
दोस्रो टी-२० खेलमा अस्ट्रेलियाविरुद्ध भारतको जित

११ मंसिर,काठमाडौँ। आइतबार भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ। तीन ब्याट्सम्यानको शानदार अर्धशतकको मद्दतले भारतले चार विकेटमा २३५ रन बनाएको थियो।

थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो। भारतले दिएको २३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९१ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे। यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९–१९ रन बनाए।

भारतका रवि बिस्नोइ र प्रसिद्ध कृष्णाले ३–३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए। त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले। यस्तै, यशस्वी जैसवालले ५३ र इशान किशनले ५२ रनको योगदान गरे। रिङ्कु  सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे।

भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो। अब तेस्रो खेल सोमबार हुँदैछ। यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्