१० मंसिर,चितवन । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन । दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् ।
कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । आर्थिक वर्ष २०७९–८० मा यो सङ्ख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरी रहेको उनले जानकारी दिए ।