समाचार

छुट्टी मनाउने बहानामा ज्यान जोखिममा नपार्नुस् : डब्ल्यूएचओ

६ पुष २०७८, मंगलवार ०३:५७
छुट्टी मनाउने बहानामा ज्यान जोखिममा नपार्नुस् : डब्ल्यूएचओ

काठमाडौं । कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ।

”जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,” विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ”कठिन निर्णय” गरिनुपर्ने बताएका छन्। केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुनेछ । उनका अनुसार ”ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य” प्राप्त भएको छ।

फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ। सोमवार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ”देशलाई बन्द गर्ने” योजना नबनाएको जनाएको छ।

अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्।

युरोपमा कडाइ

कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन तीव्र गतिमा फैलने क्रम कम गर्ने प्रयास स्वरूप युरोपेली राष्ट्रहरूले प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने क्रम जारी राखेका छन्।

लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरूलाई रोकिएको छ। उक्त कार्यक्रममा हजारौँ सहभागी हुने बताइएको थियो। तर प्रधानमन्त्री बोरिस जोनसन कडा नियम सार्वजनिक गर्नबाट भने रोकिएका छन्।

आयरल्यान्डमा बार अनि रेष्टुराँ ८ बजेपछि सञ्चालन हुन नपाउने नियम लागु गरिएको छ। यसैबीच, युरोपेली सङ्घले अमेरिकी कम्पनी नोभाभ्याक्सले विकास गरेको कोभिड विरुद्धको खोपको प्रयोगलाई स्वीकृत गरेको छ। यो त्यहाँ प्रयोगमा ल्याउन लागिएको पाँचौँ कोभिड खोप हो। बिबिसी

प्रतिक्रिया दिनुहोस्