१० मंसिर,काठमाडौँ । काठमाडौंमा आज (आइतबार)देखि पुन: द्रुत बस सेवा सञ्चालन गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म आइतबारदेखि पुन: द्रुत बस सेवा सञ्चालन गर्ने जनाएको छ।
यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका गरी अब ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । अहिलेलाई बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीन/तीन मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् ।
पुन: द्रुत बस सेवा सञ्चालनका लागि ठाउँ–ठाउँमा बोर्ड राखिएको तथा सडकमा मार्किङ गरिएको (रातो रङ लगाइएको) छ। यस्तै, द्रुत सेवाका लागि ११ वटा बसहरु थप गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइने दाबी गरेका छन्।
अचम्म त के छ भने यो सेवाका लागि अहिलेसम्म कति खर्च भयो यकिन हिसाब कसैले दिन सकेका छैनन् । गत असोज ३ गते संविधान दिवसका अवसरमा सुरु गरिएको द्रुत बस सेवाका लागि तीन करोड रुपैयाँ खर्च लागेको बताइएको थियो ।
पछिल्लो समय गरिएको रंगरोगन , थपिएका बोर्ड तथा बस संचालनका लागि भएको खर्चको हिसाब भने सरोकारवाला कार्यालयले दिन सकेका छैनन् ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब तीन करोड रुपियाँ खर्च भएको सुनिए पनि अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे आफूलाई थाहा नभएको बताए ।
द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको ढकालले बताए । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले द्रुत बस सेवा सञ्चालन तथा पुनः सञ्चालनका लागि भएका खर्चबारे आफूलाई थाहा नभएको बताए ।