९ मंसिर,काठमाडौँ । व्यवस्था पल्टाउने उद्घोषसहित जनविद्रोहको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईले गणतन्त्रको जग हल्लिसकेको दावी गरेका छन् ।
उनको समूहले शनिबार सिफलचौरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ७० प्रतिशत सटरहरू बन्द भइसकेको दाबी गर्दै उपत्यकाका घरहरू अब खाली हुने बताए । उनले भने, ‘अब भाडामा बस्ने मान्छे पाइने छैन ।’
शनिवार सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईले आफूलाई म्यानमारकी नेतृ आङ सान सूचीलाई जस्तै नजरबन्द गर्न खोजिएको आरोप लगाए ।
प्रसाईले भने–यिनीहरु हल्लिसकेका छन् । यो संसदीय प्रणाली मक्किसकेको छ । २६० वर्षअघि पृथ्वीनारायण शाहको जन्म जन्म भएको थियो देश एकीकरण गर्न । राजा महेन्द्रले देशलाई औद्योगिक युगमा लगिसकेका थिए । अब दुर्गा प्रसाईको उत्पति भएको छ । यो देशलाई विकास मार्गमा लैजान्छ अब । कुनै बेला यो समय मुना चियाको हो भनिन्थ्यो,अब यो समय दुर्गा प्रसाईको हो ।
प्रसाईले राजावादी भन्नेहरु पनि दुर्गा प्रसाई लोकप्रिय भयो भनेर कोठे बैठक गरिरहेको भन्दै राजावादी होइन राष्ट्रवादी बनेर आउन अभियानमा आग्रह गरे । उनले मूलधारका पत्रकारलाई युट्युबरबाट सिक्न पनि सुझाव दिए ।
उनले पुस मसान्तभित्र देश टाट पल्टिने भन्दै काठमाडौंबासी ब्युँझिनुपर्ने बताए । उनले काठमाडौंबासी आन्दोलनमा नआएकोमा असन्तुष्टि जनाउँदै उनीहरु अझै नबुझे घरको लालपुर्जा मारवाडीको हातमा पुग्ने चेतावनी दिए ।
उनले भने–काठमाडौंबासी हो,तिमीहरुलाई लाज त लाग्छ होला । कट्टु खुस्केर गइसकेको छ । लाज हातले छोपेर म त खुसी छु भन्दैछौ साथीहरु हो । अब थाहा हुन्छ, पुस मसान्तपछि काठमाडौंबासीहरु तिमीहरु बिउँझिदा तिम्रो हातमा लोटा र केही मारवाडी तस्करको हातमा तिम्रो घरको लालपुर्जा हुनेछ । तिमीहरुलाई मैले सम्झाउन खोजेँ । काठमाडौं,ललितपुर,भक्तपुर,किर्तिपुरका तपाईहरुको होस खुलोस् । ७० प्रतिशत सटर बन्द भइसके । यी घरहरु अब खाली हुन्छन्,भाडामा बस्ने मान्छे पाइने छैनन् । अब कतिदिन टिक्नुहुन्छ काठमाडौंबासी हो ? तपाईहरु बाहिर आउन ढिला गरेमा काठमाडौंमा स्याल रुने दिन आउनेछन् ।