८ मंसिर,काठमाडौँ । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइँलाई घरमै नजरबन्द गरेको छ ।
प्रसाइँलाई फोन गर्दा उनका एक सहयोगीले नजरबन्द गरिएको र बाहिर निस्किन नदिने प्रयास भइरहेको बताए । यद्यपि उनले तीनकुनेमा हुने भनिएको आजको विरोध प्रदर्शन नरोकिने बताए ।
सामाजिक सद्भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ।
स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो। यसपछि घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए।
‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’, उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो?’
‘म क्यान्सर सर्भाइभर हुँ। कति बाँच्छु मलाई नै थाहा छैन। प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ। हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ’, उनले भने, ‘हिजो जनतालाई गरेको वाचा पूरा भयो कि भएन? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दै छन्। उहाँहरूका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु। १७ हजार मरेका छन्। उनीहरूले के पाए?’
‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहुन्थ्यो। उहाँहरूको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ’, प्रसाईंले थपे, ‘पुलिसको यातना भोग्न पनि तयार छु।’
प्रसाइँले केही राजनीतिक र आर्थिक मुद्दा उठाउँदै हिजो बिहीबारबाट काठमाठौमा विरोध प्रदर्शन सुरु गरेका छन् । बल्खुमा आयोजित हिजोको प्रदर्शनमा ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए ।