८ मंसिर,काठमाडौँ । आइडिया जार डिजिटल कम्पनीले ‘रमाइलो’ एप सार्वजनिक गरेको छ। एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधासमेत रहेको छ।
नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ।
कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ।यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत कम्पनीको छ ।
साथै गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्ने र एकाउन्ट सदाको लागि बन्द गराउने समेत विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सद्भावमा खलल पुगेको भन्दै हालै नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको छ । यसै कारण पनि नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीकाे विश्वास छ । याेसँगै सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।
प्रयोगकर्ताहरूको सुझावका आधारमा कम्पनीले एपलाई विकास गर्दै लैजाने जनाएको छ। रमाइलो एप १३ वर्षभन्दा माथिका व्यक्तिले चलाउन पाउनेछन्। एप हाल गुगल प्लेस्टोरमा उपलब्ध छ। केहीदिनमै आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ।