मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भन्यो– दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन

८ मंसिर २०८०, शुक्रबार ०४:०७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भन्यो– दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन

८ मंसिर,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले सूचना जारी गर्दै सो समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको प्रष्ट पारेको हो।

प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ ।

काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको कार्यालयले जनाएको छ ।

“काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले भनेको छ, “यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।”

प्रतिक्रिया दिनुहोस्