खेलकुद

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट : वाग्मतीको फराकिलो जित

७ मंसिर २०८०, बिहीबार १५:५२
केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट : वाग्मतीको फराकिलो जित

७ मंसिर,पोखरा। वाग्मती प्रदेशले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा बिहीवारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा वागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको टी–२० क्रिकेट प्रतियोगितामा एक सय ८४ रनको लक्ष्य पछ्याएको आयोजक १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो ।

वागमतीको धारिलो बलिङसामु आयोजक समालिन सकेन । कप्तान सन्दीप लामिछानेले चार ओभरमा १६ रन मात्रै खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिँदै आयोजकको इनिङ सस्तैमा रोके ।

अर्का ओपनर शुभ कंसाकारले २२ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए । प्रतिश जिसी ९ र कप्तान सन्दीप लामिछाने १८ रनमा आउट भए । सन्दीपले ३ छक्का प्रहार गरे । गौरव खड्काले अविजित १७ रन बनाए । प्रतीक श्रेष्ठ १४ रन बनाएका प्रतीक श्रेष्ठ भने सन्तोष यादवको बलमा आउट भए । आयोजकका विपर्सन केसीले ३ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १–१ विकेट लिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक टिम १४.२ ओभरमा ७५ रनमा अलआउट भयो । विपक्षीलाई सस्तैमा समेट्न सन्दीपले १६ रन खर्चेर ४ विकेट लिए । सुवास खत्रीले १६ रन दिई ३ विकेट लिएका थिए । कप्तान अमर मिश्र र विजय प्रजापतिले १३–१३ रन, सन्तोष यादवले १२ र निर्मल थापाले १० रन जोडे ।

आयोजक एकेडेमीका कप्तान अमर मिश्रले टिमले हार भोगे पनि सोचेभन्दा धेरै राम्रो खेलेको बताए । ‘अझै फिल्डिङ र ब्याटिङमा कमी कमजोरी भयो, आउने खेलमा सुधार्छौं,’ उनले भने, ‘तयारी राम्रो भएको थियो तर अनुभवको कमी भयो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरूसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाइयो ।’

प्रतिक्रिया दिनुहोस्