७ मंसिर,काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन्।
बिहीबार प्रसाईसँगै एमालेनिकट युवा संघले पनि काठमाडौंमा सडक प्रदर्शन आयोजना गरेको छ। उक्त सडक प्रदर्शनबारे जानकारी दिँदै बस्नेतले आफूहरुको प्रदर्शन शान्तिपूर्ण हुने बताए। सुरुमा शान्तिपूर्ण र्याली निकाल्ने र त्यसपछि कोण सभामा परिणत हुँदै समापन गर्ने उनको भनाइ छ।
‘हामी शान्तिपूर्ण र्याली सञ्चालन गर्छौँ। कोटेश्वर हुँदै हामी बल्खुसम्म पुग्न सक्छौँ। कुनै पनि निषेधित क्षेत्र तोडिँदैन,’ बस्नेतले भने, ‘हामी महंगी, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारलाई सचेतनाका लागि खबरदारी गर्छौँ।’
आफूहरुको सडक प्रदर्शनको मूल्य उद्देश्य यो भए पनि कथित राजतन्त्रवादीले गणतन्त्र ढाल्ने अनि राजतन्त्र ल्याउने भनेकाले खवरदारीका पनि सडकमा आएको उनले बताए।
‘दुर्गा प्रसाई जस्ता व्यक्तिलाई अघि सारेर राजतन्त्रको भुत आएकाले पन्छाउने गरी सडकमा आएका हौँ,’ उनले भने, ‘यो कार्यक्रम पुरातनवादी शक्तिलाई पनि चेतावनी दिने कार्यक्रम हो। अहिले शान्तिपूर्ण जुलुस सुरु गरेर साढे १ बजेपछि कोणसभामा परिणत गर्दै समापन गर्ने छौँ।’