माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ । सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् ।
भगवतीका विभिन्न बस्तीका सहयोगदाताले आफ्नो दिवङ्गत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतस्फुर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताए । “सुरुमा श्रमदानबाटै पदमार्ग बनाउन थाल्यौँ, अहिले विभिन्न व्यक्तिले सहयोग गरिरहनुभएको छ, अभियानमा जुटेको सहयोगबाट थप पदमार्ग बनाउन जनशक्ति पनि थप गरेका छौँ, हामी यहाँ ढलान गरेर बनाएका हरेक सिँढीमा हाम्रो पसिनाले सिञ्चित गर्न चाहन्छौँ, सबैको साथ, सहयोग, सहकार्य र समर्पणको भावनाले यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ”, केसीले भने।
पदमार्ग बनाउन श्रमदान गर्ने युवासँगै सङ्कलित सहयोग रकमबाट ज्याला दिने गरी श्रमिकसमेत परिचालन गरिएको छ । पदमार्ग निर्माणलाई गति दिन जङ्गलमै पाल टाँगेर बास बस्ने प्रबन्ध मिलाइएको छ । अहिले दैनिकरुपमा १५ जनालाई ज्याला नै दिने गरी पदमार्ग निर्माणमा परिचानल गरिएको छ । ज्यालामा काम गर्नेसँगै श्रमदान गर्ने पनि दैनिकरुपमा पदमार्ग निर्माणमा जुट्ने गरेको स्थानीय युवा हिमाल कटुवालले बताए। भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज हुने उनको भनाइ छ ।
मङ्सिर महिनाभित्रमा कुनौटादेखि च्युरीबास खण्डमा चिटिक्कको पक्की पदमार्ग निर्माण गर्ने लक्ष्य छ । सुरुआतमा श्रमदानबाट मात्रै केही पदमार्ग बनाउने गरी काम सुरु भए पनि काम सुरु भएपछि देश तथा विदेशमा रहेका भगवतीवासीले मन खोलेर सहयोग गर्न थालेकाले पदमार्ग निर्माण योजनालाई निरन्तर अगाडि बढाइएको स्थानीय युवा डेकबहादुर कार्कीले बताए ।
जङ्गलमा झाडी फँडानी गरेर ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाइएको छ । आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई साढे एकमिटर फराकिलो बनाइएको छ । पदमार्गमा २२ दिनदेखि काम गरिरहेका स्थानीय ५६ वर्षीय प्रेमबहादुर कटुवालले पुन्य काममा सहभागी भएको अनुभूति हुने गरेको अनुभव सुनाए ।
“हामीले काम त घरमा बसे पनि गर्छौं, तर यहाँ आएर पदमार्गमा पसिना बगाउँदा छुट्टै आनन्दको मिलेको छ”, उनले भने ।