मुख्य समाचार

वामपन्थी एकताको कुरा नगर्न एमाले नेताहरूलाई ओलीको निर्देशन

६ मंसिर २०८०, बुधबार ०८:०३
वामपन्थी एकताको कुरा नगर्न एमाले नेताहरूलाई ओलीको निर्देशन

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकारेर समाहित भएमात्र एकता गर्न सकिने धारणा राखेका हुन्।

‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए ।

‘दुईवटा अध्यक्ष राखेर एकता हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले वामपन्थी एकता सुन्दा राम्रो सुनिएपनि अरुका स्वार्थका लागि काम गर्नेसँग एकता हुन नसक्ने स्पष्ट पारे। पार्टी एकता अर्कोले पनि आवश्यकता छ भन्ने ठानेपछि मात्र एकता हुने उनको भनाई छ। ओलीले झण्डा र व्यानर जति भएपनि नेपालमा प्रगतिशिल शक्ति र दक्षिणपन्थी गरी दुईथरी शक्ति मात्र रहेको उल्लेख गरे। ओलीले एकताको मन्त्र जपेर मात्रै पार्टी एकता नहुने स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री ओलीले आफू सरकारमा हुँदा संसदबाट सर्वसम्मत रुपमा नयाँ नक्सा जारी गर्नुका साथै कार्यकालमा गरेका कामसमेत स्मरण गराए।

ओलीले एमाले देश बनाउने पार्टी भएकाले अनुशासित सक्रियता आवश्यकता रहेको बताए। उनले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सकेर आएपश्चात शान्तिपूर्ण ढंगले आन्दोलनकारी ढंगले अगाडि बढ्ने स्पष्ट पारे। उनले भने,‘हामी हिंसाको बाटो जादैनौं। गम्भीर छलफल गर्छौैं। मैदानमा उत्रिन्छौं। जनताको बल प्रयोग गरेर अगाडि बढ्छौं, जनता सार्वभौम हुन्। देशलाई यस्तो अस्थिर अवस्थामा बस्न दिँदैनौं।’

प्रतिक्रिया दिनुहोस्