प्रवास

हमाससँगको सम्झौता इजरायलको मन्त्रिपरिषद्बाट स्वीकृत

६ मंसिर २०८०, बुधबार ०३:२३
हमाससँगको सम्झौता इजरायलको मन्त्रिपरिषद्बाट स्वीकृत

६ मंसिर, काठमाडौं। इजरायलको मन्त्रिपरिषद्ले गाजामा हमासले बन्धक बनाएका केहीलाई रिहा गर्ने सम्झौता अनुमोदन गरेको छ ।

कतारको मध्यस्थतामा इजरायल–हमासबीच कैदी–बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता हुन लागेको हो । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को विशेष बैठकले स्वीकृत गरेको बीबीसीले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुंगाेमा पुग्ने आशा व्यक्त गरेका थिए । अस्थायी युद्धविरामको बदलामा हमासले केही बन्धकहरूलाई मुक्त गर्ने सम्झौता भएको बताइएको छ ।

यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको बताएका समाचार आएकाे थियाे । सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टाइनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने उल्लेख छ ।

गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको भयानक आक्रमणपछि सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २ सय ४० बन्धकहरूलाई गाजामा लगिएको थियो । आक्रमणमा करिब १ हजार २ सय मानिस मारिएका थिए, जसमा अधिकांश सर्वसाधारण थिए ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरु रिहा भए पनि गाजामा युद्ध निरन्तर रहने बताउनुभएको छ । बन्धक रिहाले मात्र लक्ष्य पूरा नहुने भएकोले छोटो समयको युद्धविरामपछि युद्ध जारी रहने बताउनुभएको बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्