६ मंसिर,काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो।
एमालेले‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा बिहीबार युवा संघको आयोजनामा हुने जनप्रदर्शनको विषयमा पनि छलफल हुनेछ।
एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्दैछ।
कात्तिक २२ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मध्यपहाडि लोकमार्ग यात्राको मिति तय गरेको हो। लोकमार्ग यात्रा विशेष अभियान मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आरम्भ गर्ने एमालेले जनाएको छ। यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।