समाचार

२७ जना मिलेर १० महिनामा ३३ किलो सुन तस्करी

६ मंसिर २०८०, बुधबार ०२:२५
२७ जना मिलेर १० महिनामा ३३ किलो सुन तस्करी

६ मंसिर, दोलखा । चीनबाट दोलखा हुँदै नेपालमा १० महिनाको अवधिमा मात्रै ३३ किलो सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको छ।

२०८० असोज १० गते बरामद गरेको ११ किलो सुन तस्करीको मुद्दा अनुसन्धानका क्रममा २०७९ मंसिरदेखि २०८० असोज १० गतेसम्ममा ३३ किलो सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको हो।

अहिलेसम्म तस्करी समूहका चिनियाँ नागरिक आकर लामा र ग्याङ तथा नेपाली नागरिक नुर्बुछिरिङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधबकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तामाङ (सिन्धुपाल्चोक), तिलक विक (बाग्लुङ), दीपेन्द्रराज शाक्य (ललितपुर), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तामाङ (दोलखा) लाई पक्राउ गरेको छ। प्रहरीको अनुसन्धानबाट गिरोहले सुनको भुक्तानीमा ठुलो मात्रामा विदेशो मुद्रा अवैध कारोबार गरेको खुलेको खबर गोरखापत्रले छापेको छ ।

उनीहरुले मंसिर १० गते चीनबाट लुकाइछिपाई अवैध रुपमा पैठारी गरेको ११ किलो ५३२.०३८ ग्राम सुन प्रहरीले बरामद गरेको थियो। तर प्रहरीले थप सुन समेत तस्करी भएको निस्कर्ष निकाल्दै ३३ किलो सुनको एकतिस करोड एघार लाख सत्तरी हजार चार सय छयालिस रुपैयाँ बिगो कायम गरिएको छ।

बरामद  भएको ११ किलो ५३२.०३८ ग्राम  सुन नेपाल राष्ट्र बैंक टक्सार  बिभाग ववरमहल काठमाडौंमा बुझाएको प्रहरीले जानकारी दिएको छ।तस्करहरूले विशेषगरी बालबालिकाको प्रयोगमार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायातमार्फत तस्करीको सुन काठमाडौंंसम्म लैजाने गरेको पाइएको पनि प्रहरीले जनाएको छ। लामाबगरको फलाक नाका हुँदै डोरीमा सुन बाँधेर चीनको तिब्बतबाट नेपालतर्फ पठाउने र नेपाल तर्फबाट त्यसैगरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको बिनालगायत पठाउने गरेको तथ्यसमेत अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ।

उनीहरूले २०७९ साल मंसिरदेखि २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चारसय ४६ रुपैयाँ १५ पैसा बराबरको ३३ किलो सुन अवैध रूपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ। सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ तथा नेपालीले अन्तर्देशीय आपराधिक संगठन सञ्जाल खडा गरी क्रिप्टोकरेन्सी तथा विभिन्न डिजिटल वालेटको प्रयोग गरी सुनको भुक्तानी दिने र विदेशी मुद्राको अवैध कारोबार गर्ने गरेको समेत खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताए।

यो अवधिमा उनीहरूले विभिन्न १२ वटा डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँचसय ९३ रुपैयाँ सात सय २९ पैसा बराबर युनिट यूएसडीटीको कारोबार गरेकोदेखिएको पनि सीआईबीका प्रहरी निरीक्षक पाठकले बताए।

प्रतिक्रिया दिनुहोस्