“बाँदरले खेतबारी अन्न पाक्न दिँदैन”, उनले भने, “जो–कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।”
बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उनले जानकारी दिए ।
“बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ”, स्थानीय तामाङले भने, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।”
बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाड्को भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले बताए ।
“बाँदरमा अटेरीपना बढेको छ । बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पनि नभाग्ने अवस्था छ”, उनले भने, “बाँदर हुललाई बस्तीबाट धपाउनै मुस्किल छ । वर्ष दिन खाने अन्नबाली छिनभरमा उजाड पार्छ । यही अवस्था रहे किसानले खेती गरेर खाने अवस्था छैन ।” अधिकांश किसानको मुख्य समस्यारूपमा रहेको बाँदर आतङ्क नियन्त्रणमा राज्यले उचित विकल्पको खोजी गर्नुपर्ने किसानको भनाइ छ ।