मुख्य समाचार

माओवादी केन्द्र र नेसपा पार्टी एकता हुने

५ मंसिर २०८०, मंगलवार ०२:४६
माओवादी केन्द्र र नेसपा पार्टी एकता हुने

५ मंसिर,काठमाडौं। माओवादी केन्द्रसँग पार्टी एकताको लागि नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने सहमति भएको छ ।

आइतबार बसेको माओवादी र नेसपाको वार्ता समितिले तत्काल पार्टी एकता गर्ने निर्णय गरेको छ । माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रचण्ड र बाबुराम नेतृत्वमै एकता संयोजन समिति गठन गर्न सुझाइएको छ ।

‘पार्टी एकता संयोजन समिति गठन गर्ने, समितिले दुवै पार्टीले उठाएको वैचारिक र नीतिगत विषयमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ । एकतापछि पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्हलगायत विषयमा सहमति खोज्ने’ विज्ञप्तिमा भनिएको छ ।

समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव समेत रहने महासचिव रमेश यादवले जानकारी दिए । यादवका अनुसार यसअघि महाधिवेशन बोलाउने निर्णय खारेज गरेको छ । भट्टराई कै नेतृत्वमा माओवादीसँग पार्टी एकता प्रक्रिया अगाडि बढाइनेछ ।

‘डाक्टर साबको नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने सहमति भयो । समितिमा महिन्द्रजी पनि रहनु हुन्छ । महाधिवेशनको एजेण्डा खारेज भयो । केन्द्रीय कार्यकारिणी बैठकमा पार्टी एकता र समायोजन समिति गठनसम्बन्धी २ वटा एजेण्डामात्र समावेश हुन्छ’, महासचिव यादवले भने ।

सोमबार राति भट्टराई निवास टोखामा बसेको चार जना शीर्ष नेताहरूको बैठकले एकता समायोजन समिति बनाउने सहमति गरेकाे हो । २०७२ सालमा माओवादी छाडेपछि डा. बाबुराम भट्टराईले कम्युनिष्ट विचारधारा पनि त्यागेको घोषणा गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीलाई भत्केको घरको संज्ञा दिँदै अब नफर्किने बाचा गर्दै हिँडेका बाबुराम अहिले त्यही पार्टीसँग एकताको तरखरमा छन् ।

माओवादी छाडेपछि नयाँ शक्ति, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका बाबुरामलाई पार्टीभित्रबाटै माओवादीसँग एकता गर्न दबाब बढेको छ । माओवादीसँग एकता नगरे पार्टी नै विभाजन हुने परिस्थिति बन्दै गएपछि थप दबाबमा छन् उनी ।

प्रतिक्रिया दिनुहोस्