समाचार

लप्सीफेदीबाट पक्राउ परेका सबै छुटे

३ मंसिर २०८०, आईतवार ०३:२९
लप्सीफेदीबाट पक्राउ परेका सबै छुटे

३ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् ।

शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले सबैलाई शनिबार राति छाडिएको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो ।

सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रूख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरूलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहित तीन सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्