गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।
प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुिन आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए ।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो ।
मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन्। पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनःनिर्माण गरे ।
छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।
आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।
प्रभुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब रु २५ लाख जुटाएको जनाएको छ ।