१ मंसिर,काठमाडौँ । इतिहासका बारेमा उपन्यास लेखेका साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ ।
तीन वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित घिमिरेको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको उनकी छोरी उमा घिमिरेले जानकारी दिइन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उनको जन्म विसं २००० साउन १५ गते भएको हो । उनका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ‘चित्कार’, ‘सेरोफेरो’ नामका उपन्यास प्रकाशित भएका छन् ।
यसैगरी ‘यथार्थ’ कविता सङ्ग्रह, ‘विद्यालय लेखा प्रणाली’, ‘पृथ्वीनारायण शाह’ धारावाहिक प्रकाशन, ‘बिपी स्मृति ग्रन्थ’ सम्पादन–२०४८, ‘अरनिको’ लामो कथा, ‘हिन्दू संस्कृतिका वैज्ञानिक पक्ष’, ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, ‘लोकतन्त्रअघिको महाभारत’, ‘नेपालको पहिलो कोतपर्व’, ‘नीतिका कुरा’ कविता सङ्ग्रह सहलेखन, ‘बुद्ध’, ‘लमजुङे बाघ’, ‘कोसेली’, ‘छयासमिस’, ‘गङ्गालाल’, ‘नखाएको विष’ एवम् ‘धुम्वाफेवा र भृकुटी’ नाटक, ‘पौराणिक छन्दविधान’, ‘सूर्यकमल दन्त्यकथामा आधारित’ कृतिसहित विभिन्न पत्रपत्रिकामा लेख, रचना प्रकाशित भएका छन् ।
उनका नाममा आशा प्रज्ञान केन्द्र विसं २०७९ मै स्थापना भएको छ । नागार्जुन नगरपालिकाको सहयोगमा गत वर्ष नै केन्द्रले घिमिरेको सम्मानका लागि स्मृतिग्रन्थ प्रकाशन गरेको छ । केन्द्रले नागार्जुन नगरपालिकामा बसोबास गरी विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका २२ जनालाई सम्मान पनि गरेको अध्यक्षसमेत रहेकी छोरी घिमिरेले जानकारी दिइन् ।
केन्द्रले प्रत्येक वर्ष उनले लेखेकामध्ये एउटा कृति प्रकाशन गरिने जनाएको छ । केन्द्रको हाल नेपाल, भारतका सिक्किम, आसाम र मणिपुर, क्यानडा, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशमा शाखा रहेका छन् । स्व.घिमिरेका श्रीमती र तीन छोरी रहेका छन् । उनका एक छोरा ३५ वर्षदेखि बेपत्ता भएकामा अझै कुनै खोजखबर प्राप्त नभएको पारिवारिक स्रोतले जनाएको छ ।