निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले सडक आयोजनाका अधिकांश काम सकिएको बताए । “डिबिएसडी प्रविधिको कालोपत्र गर्नेुपर्ने बिरौटा बाहेकको ठाउँमा दोस्रो कोड पनि भइसक्यो,” उनले भने– “ढलान, ग्राभेल र सोलिङको काम यसअघिनै सकिएको छ ।”
विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको सो आयोजनाका लागि निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट हुनु, प्राकृतिक विपत्ति आइपर्नु, कोरोना महामारीलगायत कारणले लक्ष्यभन्दा तीन वर्षपछि पूरा हुन लागेको हो ।
सडक निर्माणले पूर्णता पाएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुगेको उनले जानकारी गराए ।
म्याग्दीको गौरवको आयोजना मानिएको सो आयोजनाबाट सडक यातायात मात्र नभएर पर्यटन प्रवर्धन र कषिको विकासका लागिसमेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारवासीलाई आवतजावतका साथै ढुवानी स्थानीय उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।