२४ कार्तिक,वीरगञ्ज। मधेस प्रदेशकै पहिलो सुविधासम्पन्न मल वीरगञ्जमा सञ्चालनमा आएको छ। यहाँस्थित आदर्शनगरमा ‘स्काइलाइन’ नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो।
वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ । मलले नेपालकै सर्वोत्कृष्ट क्यूएफएक्ससँगको सहकार्यमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्यूएफएक्सले वीरगञ्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।
त्यस्तै, मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्यात होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन लागेको छ। दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फन्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँलगायतको सुविधा रहेको छ। हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समयभित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ।