समाचार

रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

२३ कार्तिक २०८०, बिहीबार ०२:४४
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

२३ कार्तिक,काठमाडौँ। टिकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि आज (बिहीबार)लाई पेसी छ।

तर, चौधरी भने अहिले गाउँगाउँमा फूलमाला पहिरिँदै हिँडिरिहेका छन्। कारण, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिए।

चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन नै छ। कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन्।

टीकापुर हत्याकाण्डमा जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाउँदै जेलमुक्त भएका थिए। रेशमलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो।

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गर्दै माफीका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

उनलाई कैद माफी दिने निर्णय पीडितको भावना तथा कानुन विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शितलनिवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्