राजनीति

भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति

२३ कार्तिक २०८०, बिहीबार ०२:१२
भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति

२३ कार्तिक,काठमाडौँ। भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री शर्माले संवेदनहीन राजनीति गरेका छन् ।

काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन् । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनले भने, ‘‘हाम्रो जिल्लामा आएको राहत आफ्नो मतदाता भएको जिल्लामा लगे । न्यूनतम मानवीय संवेदना समेत राखेनन् । जाजरकोटमै पनि ठुलो क्षति ठुलो हुँदा राहत कम आएको छ, उता नलगाडमा क्षति कम भए पनि धेरै सामग्री पुर्‍याइएको छ । ’’

अर्थमन्त्रीसहित चारपटक मन्त्री भइसकेका जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि विवादित थिए । अहिले मानवीय संकटको समयमा पनि भूकम्पको केन्द्रबिन्दु जाजरकोट नगई निर्वाचन क्षेत्र रुकुम पश्चिममा उनी सीमित छन् ।

जहाँका भए पनि पीडितले राहत पाउने कुरामा आफ्नो कुनै गुनासो नरहे पनि अघिपछिको राजनीतिक प्रतिशोध साधेर भूकम्पपीडितलाई थप आहत बनाउने काम भएको घर्तीको आरोप छ । ‘सरकारी राहत पारदर्शी रूपमा अभिलिखित गरेर वितरण गर्नुपर्ने हो, राहत सबैले न्यायोचित पाउनुपर्ने हो । तर लुकाएर रातिराति बाँडिएको छ,’ उनले कान्तिपुरसँग भने । दल विशेषका नेताले राहतमा मनपरी गरेपछि भेरी नगरपालिकाले पनि एकद्वार प्रणालीबाहेक आफ्नै विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएको छ ।

बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिमतर्फ मोडिएको छ । ‘जाजरकोटका पीडितले पर्याप्त कम्बल पनि पाएका छैनन्,’ भेरी नगरपालिका निवासी शुक्र शर्माले भने, ‘यहाँ आएको राहत पनि राजनीतिक दबाबमा उता लगिन्छ ।’

रुकुम पश्चिमका भूकम्पपीडितलाई पनि राहत चाहिएको छ उता। जाजरकोटमा धेरे ठाउँमा राहत पुग्न सकेको छैन । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्ने हो । तर, राजनीतिक पहुँच देखाउन थालिएको आरोप छ ।

बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिमतर्फ मोडिएको थियो । जाजरकोटका पीडितले पर्याप्त कम्बल पनि नपाएको स्थानीयको गुनासो छ।

भूकम्प बढी प्रभावित भएको जाजरकोट सदरमुकाम खलङ्गासहित भेरी नगरपालिकाका धेरै वडाका सबैजसो कच्ची घर भत्किएका छन् ।

भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामान पुगेका छैनन् । सर्वसाधारण बारीमा कठ्याङ्ग्रिएर रात बिताउन बाध्य छन् ।

सरकारी निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिहरूले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने मापदण्ड बने पनि सार्वजनिक योगदानबाट संकलित राहत माओवादी नेता शर्माले राजनीतिक आस्था र पहुँचका आधारमा वितरण गरिरहेका आरोप छ । शर्माको सिको गर्दै अरू नेताले पनि भोटको राजनीति गर्न लागेका छन् ।

माओवादी नेता तथा पूर्वअर्थमन्त्री शर्माले भने भारतले पठाएको, सरकारले दिएको र आफैँले संकलन गरेको राहत बाँडेको बताएका छन् ।
राहत र पुनः स्थापनामा ढिलाइ हुँदा भूकम्प प्रभावित आक्रोशित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्