समाचार

म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी

२२ कार्तिक २०८०, बुधबार ०२:२४
म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी

२२ कार्तिक,काठमाडौं। फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई तीन विकेटले हराएको छ। यो जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ।

गएराति अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।

अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अविजित रहे।म्याक्सवेल घाइते हुँदा सिंगल लिन नसकेपनि चौका र छक्का हान्दै एक रुपमा खेल जिताएका हुन्। एक समय ९१-७ को अवस्थामा पुगेको अष्ट्रेलियालाई म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेका थिए।

आठौं विकेटका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरे। प्याट कमिन्स ६८ बलमा १२ रनमा अविजित रहे।ओपनर ट्रविस हेड नविन उल हकको दोस्रो ओभरको दोस्रो बलमै एज लागेर शून्यमा क्याच आउट भएका थिए।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले १२९ रन बनाए। उनले १४३ बलमा ८ चौका र ३ चौका प्रहार गरेका थिए। रमनुल्ला गुर्बाजले २१ रन, रहमत साहले ३० रन, हस्मतुल्लाह शाहीदीले २६ रन, अजमतुल्लाह ओमारजईले २२ रन, मोहम्मद नाभीले १३ र रसिद खानले ३५ रन बनाएका थिए।

बलिङमा अष्ट्रेलियाका जोश हेजलवुडले २ विकेट, मिचेल स्टार्क ग्लेन म्याक्सवेल र एडम जम्पाले एकएक विकेट लिए। भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल पुगिसकेको छ।

अव न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली सेमिफाइनल पुग्नेछन्। यी तीन टोलीको समान ८ अंक छ। नेटरनरेटका कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्