२१ कार्तिक, हेटौंडा। बागमती प्रदेशमा कार्यरत कर्मचारीहरूले भूकम्प पीडितलाई १ करोड २५ लाख सहयोग गर्ने भएका छन्।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितहरूको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।
बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठुलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकबाट भूकम्पबाट प्रभावितलाई राहत तथा पुनर्स्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, सचिव एवं सोसरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृत स्तरका कर्मचारीले दुई दिनको तलब र अन्य कर्मचारीहरूले एक दिनको तलब सरकारी कोषमा जम्मा गर्ने निर्णय भएको छ।
प्रमुख सचिव उपाध्यायका अनुसार प्रदेश सरकारमातहत कार्यरत प्रमुख सचिव, सचिव, अधिकृत र अन्य कर्मचारीहरूको तोकिएको दिनको तलब रकम अनुमानित एक करोड २५ लाख रुपैयाँ हुन आउने र सो रकम कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो।