समाचार

माओवादी केन्द्र जनताको माउ पार्टी हो : अध्यक्ष केसी

४ पुष २०७८, आईतवार १५:२४
माओवादी केन्द्र जनताको माउ पार्टी हो : अध्यक्ष केसी

४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले माओवादी केन्द्र जनताको माउ पार्टी भएको दाबी गरेका छन् ।

पार्टीको वीरेन्द्रनगर नगर समितिद्वारा आज सुर्खेतमा आयोजित घाइते, बेपत्ता तथा शहीद परिवारसँगको अन्तक्र्रियामा अध्यक्ष केसीले माओवादी पार्टी नेतृत्वको क्रान्तिले मुलुकमा नयाँ व्यवस्था आएको बताए ।

गरिब, दलित, महिला, सीमान्तकृत, उत्पीडित, अल्पसङ्ख्यक, आदिवासी÷जनजाति, उपेक्षित वर्ग, जाति, लिङ्ग, भाषाभाषी र धर्मावलम्बीलाई मौलिक हक प्राप्त भएको छ । यो शहीद, बेपत्ता र घाइते योद्धाको त्याग तपस्या र बलिदान हो ।

राज्यका विभिन्न निकायमा सबै वर्गको अपेक्षित सहभागिता हुनु र मुलुकमा नयाँ संविधान निर्माण भएर सङ्घीय संरचना कार्यान्वयनमा आउनुमा पनि माओवादीको १० वर्षको सङ्घर्षको उपज भएको अध्यक्ष केसीले जिकिर गरेका छन्।

उनले माओवादी सङ्घर्षको क्रममा भएका घाइते, बेपत्ता र शहीद परिवारको समस्या समाधानका लागि कार्ययोजना निर्माण गरेर अघि बढ्ने र प्रदेश सरकारले निर्माण गर्ने वा गरेका ऐन, नियमावली द्वन्द्वपीडितमैत्री बनाउन पहल गर्ने बताए ।

कार्यक्रममा शहीद चित्रबहादुर ओलीकी छोरी वीरेन्द्रनगर निवासी रेखा ओलीले पार्टीको नीति, विचार, सिद्धान्त र आदर्श ठिक हुँदा पनि व्यक्तिका कारण शहीद, बेपत्ता तथा घाइते परिवारका पीडा पार्टीले सम्बोधन गर्न नसकेको बताए ।

त्यस्तै, नरहरिनाथ नगरपालिका कालीकोटका बेपत्ता परिवारका सीता विष्टले देखावटी सहयोग गरेको आरोप लगाए । तिला गाउँपालिका– ८ जुम्लाकोट जुम्लाका द्वन्द्वपीडित हर्कबहादुर रावतले आफ्ना माग र समस्याबारे पार्टी र सरकार कसैले सुनुवाइ नगरेको दुखेसो गरेका छन् ।

त्यस्तै, सोही गाउँपालिका–९ राँसागाउँ जुम्लाका कालीबहादुर रावतले पार्टीले आफुहरूलाई चिन्न छोडेको गुनासो गरेका छन् । पार्टीले शहीद, बेपत्ता र घाइते परिवारको उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझाव थियो ।

द्वन्द्वपीडित महिलाद्वय कल्पना शाही र मञ्जु केसी (धमला)ले घाइत भएका कारणपछि परिएको भन्दै जङ्गलको जीवनबाट पार्टी सरकारमा पुग्दा पनि आफूहरूको उचित व्यवस्थापन हुन नसकेको जनाए ।

पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी घाइते रणबहादुर महताराले द्वन्द्वपीडितलाई सीपमूलक व्यवसायको व्यवस्था गर्न आग्रह गर्नुभयो । माओवादी केन्द्र वीरेन्द्रनगर नगरसमितिका अध्यक्ष रत्न गाहा मगरले द्वन्द्वपीडितका समस्या बुझेर समाधान गर्ने योजनाका साथ अघि बढ्ने विश्वास दिलाए ।

उक्त छलफल तथा अन्तक्र्रियामा द्वन्द्वपीडितसहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्