समाचार

मृतक परिवारलाई किरिया खर्च

२० कार्तिक २०८०, सोमबार ०९:०३
मृतक परिवारलाई किरिया खर्च

२० कार्तिक, रुकुम पश्चिम। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ ।

आठबिसकोटमा राहत वितरणसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन सुरु गरिएको छ । सोमबार बेलुकाबाट मृतक परिवार र पीडितहरूको घरमा पुगेर राहत उपलब्ध गराउन थालिएको हो ।

आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सोअन्तरगत चामल, दाल, नून, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ । मृत्य भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरियाखर्च उपलब्ध गराइएको हो ।

नगरप्रमुख रबी केसीले सबैभन्दा बढी प्रभावित बनेको वडा नम्बर १४ मा पुगेर आफ्नो नेतृत्वको टोलीले किरिया खर्च र राहत वितरण सुरु गरेको बताउनुभयो । शुक्रवार रातिबाट खोज र उद्धार, सोमबार दिनभर उद्धार र उपचारको काममा सक्रिय भएर सोमबार राहत सङ्कलनको काममा लागेको उनले जानकारी दिए ।

आइतबार मृतकहरूको दाहसंस्कारपछि मृतककै घरमा पुगेर रातीबाट नै किरिया खर्च र राहत वितरण सुरु गरिएको उनले जानकारी दिए । उनले आफ्नो र उप प्रमुखको नेतृत्वमा रहेको टोलीले आइतबार अबेलासम्म सात परिवारलाई किरिया खर्च र ७० बढी परिवारलाई राहत उपलब्ध गराइसकिएको बताए । नगरका अन्य स्थानमा पनि विभिन्न निकायले सहयोग वितरण गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्