मुख्य समाचार

राजश्व हिनामिना आरोपमा मालपोतका तत्कालीन ६ कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा

२० कार्तिक २०८०, सोमबार ०८:५३
राजश्व हिनामिना आरोपमा मालपोतका तत्कालीन ६ कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा

२० कार्तिक, काठमाडौं। मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्दै उजुरी परेको थियो।

उजुरी पछि अनुसन्धान गरी अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध मुद्दा दायर गरेको हो।

तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध आयोगले त्यसको दोब्बर जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृतहरु भुपबहादुर बोगटीले १ करोड ४९ लाख ६९ हजार १ सय ३५ रुपैयाँ, गोपालबहादुर ढुंगानाले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्यालले १६ लाख ८१ हजार ६०० रुपैयाँ र चन्द्रबहादुर भण्डारीले २ लाख ४४ हजार ४६२ रुपैयाँ हिनामिना गरेको आयोगकाे दाबी छ ।

आयोगले उनीहरुविरुद्ध त्यसको दोब्बर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै, आयोगले तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

तिवारीले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ र उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ हिनामिना गरेको दाबीसहित त्यसको दोब्बर जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्