समाचार

घोराही उपमहानगर : कर्मचारीको एक दिनको तलब भूकम्पपीडितलाई दिँदै

२० कार्तिक २०८०, सोमबार ०२:४०
घोराही उपमहानगर : कर्मचारीको एक दिनको तलब भूकम्पपीडितलाई दिँदै

२० कार्तिक, काठमाडौँ । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।  

यही कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दाको उद्धार र पुनःस्थापनामा सघाउन १५ लाख रुपैयाँ पठाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए।

यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्